आइडिया स्टुडियो सिजन– ८ का लागि आवेदन खुला

केही कुरा || आइडिया स्टुडियो नेपालको आठौँ सिजनको आवेदन खुला भएको छ । दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सको सहकार्यमा आइडिया स्टुडियो नेपालले आठौँ सिजनको आवेदन खुलाएको हो । आगामी १५ डिसेम्बरसम्म आवेदन दिन सकिने आइडिया स्टुडियोले जनाएको छ ।

आइडिया स्टुडियो आठौं सिजनको नारा ‘अवरोध तोड्दै, भविष्य बनाउँदै’ तय गरिएको छ । यस सिजनमा समावेशितालाई विशेष प्राथमिकता दिँदै नेपालका विभिन्न सीमान्तकृत समुदायका व्यक्तिहरूलाई सशक्त बनाउनका लागि अवसरहरू पहिचान गर्ने र उद्यमशीलताको माध्यमबाट व्यवसायी बनाउने लक्ष्य राखिएको छ ।

आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले विदेशबाट फर्कने नेपालीहरूसँग भएको ज्ञान र सीपको सदुपयोग नभएको बताउँदै आप्रवासी नेपालीहरूका लागि सूचना, सल्लाह र मार्गदर्शन केन्द्र आइडिया स्टुडियो नेपालमा रहेको जानकारी दिए ।

‘हामीले पहिलो सिजनबाटै लुकेका आइडियालाई चिन्ने र खोजेर ल्याउने गर्‍यौ । त्यसमा सबै समुदायबाट प्रतिनिधित्व नभएको पनि होइन, तर विभिन्न कारणले उनीहरू व्यवसाय छोड्न बाध्य भएको देखिएको छ । त्यसैले अबचाहिँ त्यस्ता समुदायका व्यक्तिहरूलाई पनि प्राथमिकता दिन आवश्यक ठान्यौँ, जसका लागि दलित लाइभ्स म्याटरको अनुभव र विज्ञतालाई यसमा जोडेर आइडिया स्टुडियो नेपाललाई थप समावेशी बनाउने योजना बनाएका हौँ,’ डा. छिरिङ लामाले भने ।

लामा अगाडि भन्छन्, ‘आइडिया स्टुडियो नेपालको इकोसिस्टममा रहेका संस्थाहरू डीएलएम, विश्वविद्यालयहरू, वित्तीय संस्था, ७७ वटै जिल्लामा रहेका आइडिएटरहरू, साथै विभिन्न निजी तथा सरकारी संस्थाहरूमार्फत हामी पहिलेझैँ आइडिया स्टुडियो सिजन– ८ लिएर आएका छौँ । र, यसपटक थप समावेशी बनाउने प्रतिबद्धता पनि जनाउँछौँ ।’

त्यस्तै, विदेशबाट फर्किएकाहरूका लागि आइडिया स्टुडियो नेपालअन्तर्गत नै रहने गरी जन्मिएको नयाँ कार्यक्रम ‘आईएजी सेन्टर’मा जोडिएर योगदान दिन सकिने लामाले बताए । त्यसका लागि आइडिया स्टुडियो नेपालको वेबसाइट, आइडिया स्टुडियो नेपालको सामाजिक सञ्जाल साथै सञ्चारमाध्यममार्फत आवेदन दिन सकिने उनको भनाइ छ ।

साथै, आइडिया स्टुडियो नेपालअन्तर्गत नै रहेर गण्डकी प्रदेशका तीनवटा कलेजमा विद्यार्थीहरूको उद्यमशीलता प्रवर्द्धन गर्न इन्कुबेसन सेन्टरको स्थापना गरिने पनि लामाले जनाए । ‘प्रभु आइडिया प्लस’ नाम दिइएको यस कार्यक्रममा प्रभु बैंकको सहकार्य रहेको उनले बताए ।

साथै, दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक अध्यक्ष प्रदीप परियारले १५०० युवा उद्यमी तयार गर्ने सोच रहेको बताए ।

आइडिया स्टुडियो सिजन– १ का आइडिएटर अनिल बस्नेतले कार्यक्रममा फाउन्डर्स क्लबबारे जानकारी दिँदै फाउन्डर्स क्लबमा आइडिया स्टुडियो नेपाल सिजन– १ देखि ७ सम्मकै गरी १३१ वटा सफल व्यवसायी जोडिएको बताए ।

कार्यक्रमको अन्त्यमा आइडिया स्टुडियो नेपालका निर्देशक विवेक सिंह ठकुरीले नेपालजस्तो मलुकमा उद्यमशीलतालाई सहयोग गर्ने संस्था अत्यावश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *