धरौटी नबुझाउँदा दिपेश पुन थुनामै

७ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि नबुझाएका कारण दिपेश पुन थुनामा गएका छन् ।

रुपन्देही जिल्ला अदालतले शुक्रबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर उनले तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरले बताए ।

त्यसैगरी अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकाेमा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरूमध्ये गुरुङलाई थुनामा पठाउने र अरू ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो ।

त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको थियो । पुन र अछामी बाहेक अरू भने धरौटी बुझाएर रिहा भएका छन् ।

सुप्रिम सहकारीमा रकम बचत गर्ने १८३१ जनाले रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । बचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब १ अर्ब रुपैयाँ अपचलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *